आय विवरण नबुझाए कारबाही

आय विवरण नबुझाए कारबाही

कहिरन समाचार

स्याङ्जा । स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको छ । करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाले लामो समयदेखी मूल्य अभिवृद्धि करको विवरण नबुझाएको देखिएकाले सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको हो ।

करिब नौ महिना देखिएका केही करदातासहित पछिल्लो चार महिना देखीका करदाताले आय विवरण नबुझाएको तथ्याङ्क करदाता कार्यालय स्याङ्जाले सार्वजनिक गरेको हो । झण्डै ४ सय करदाताले मूल्य अभिवृद्धि करको विवरण नबुझाएको देखिएको करदाता कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पङ्गेनीले जानकारी दिए ।

पटक पटक विवरण बुझाउन आग्रह गरेको बताउँदै पङ्गेनीले विवरण बुझाउन आलटाल गर्ने करदातालाई कानुन अनुसार कारबाही हुने बताए । कार्यालयले तोकेको समय सीमा भित्र विवरण नबुझाउने करदाता मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार कारबाहीमा पर्ने जनाएको छ ।

एक हजार तीन सय १४ जना मूल्य अभिवृद्धि करमा दर्ता भएकोमा कार्यालयले सार्वजनिक गरेको विवरणमा सामाजिक सङ्घसंस्था, उद्योगी व्यवसायी र एनजिओहरूले लामो समयदेखी आय विवरण पेस नगरेको पङ्गेनीले बताए ।

कार्यालयले स्याङ्जाका केही व्यवसायीहरूको पसलमासमेत अनुगमन गरी मूल्य अभिवृद्धि कर विवरण पेस गर्ने सुझावसमेत दिएको जनाएको छ । कर छली गर्ने व्यवसायीलाई भने कारबाहीको दायरामा राखिने कर कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/०८० लाई बजार अनुगमनको वर्षका रूपमा लिएको छ । सरकारको आर्थिक वर्ष २०७९/०८० को राजस्व नीति तथा कार्यक्रम अनुसार सघन र प्रभावकारी अनुगमनमार्फत राजस्व चुहावटलाई नियन्त्रण र करदातालाई सहजीकरण गर्ने अभियान गर्ने जनाएको छ ।

नीति अनुरूप स्याङ्जा करदाता सेवा कार्यालयले आय अभिलेख नबुझाउनेको नामावली सार्वजनिक गर्ने र बजार अनुगमन गर्ने कार्यसमेत अवलम्बन गरेको छ ।