गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको चौथो तथा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन् ।

उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे । एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन् ।

यस्तो छ रामचन्द्रको राजनीति
वि.सं २००० असोज २९ गते तनहुँको व्यास नगरपालिकामा बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलबाट रामचन्द्र पौडेलको जन्म भएको हो । संस्कृतमा शास्त्री, नेपालीमा एम।ए गरेको पौडेलले राजनीतिबाहेक अन्य पेसा व्यवसाय अंगालेनन् ।

राजनीतिलाई नै आफ्नो जीवन मानेर हिँडेका उनी निरन्तर सत्ताको छेउछाउमा रहिरहे । पुराना राजनीतिज्ञको रूपमा परिचित पौडेलले सांसद, मन्त्री, उपप्रधान एवं गृहमन्त्री हुँदै प्रतिनिधिसभाको सभामुखसमेत भएर काम गरिसकेका छन् ।

बिपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ७९ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो। पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन् ।

१६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रूपमा लागेका पौडेलले बिपी कोइरालाको चेला भएर काम गरेका छन् । ०१७ सालमा राजा महेन्द्रले बिपीलाई जेल हालेपछि उनी सक्रिय राजनीतिमा होमिएका हुन् ।

०१८ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सक्रियतापूर्वक लागेका उनी ०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापतिमा निर्वाचित भए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बनेका उनी ०२७ सालमा नेविसंघको स्थापनामा सहभागिता जनाए ।

०१७ देखि ०४६ सालसम्म विभिन्न कालखण्ड गरेर १३ वर्ष जेलजीवन बिताएका उनलाई पार्टीले ०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक बनाएको थियो ।

प्रतिगमनविरोधी आन्दोलनमा अग्रपङ्क्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परेका थिए । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ को निर्वाचनमा पहिलोपटक सांसद बने । तनहुँ १ बाट विजयी बनेका उनी ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने ।

०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालमा सभामुखका लागि भएको निर्वाचनमा उनी विजयी बने। पाँच वर्ष सभामुख भएर काम गरेका पौडेल ०५६ सालमा तनहुँ–२ बाट तेस्रोपटक सांसदमा निर्वाचित भए । उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

०६२ सालमा कांग्रेस महामन्त्री बनेका पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक भएर काम गरेका छन् । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पौडेल तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । संसदीय दलको नेतामा चुनिए पनि प्रधानमन्त्री बन्ने धोको अधुरै रह्यो ।

उनले प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजय भोगेको इतिहास छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा उनले १७ पटक पराजय भोगेका थिए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पौडेल तनहुँ २ बाट पाँचौँपटक निर्वाचित भए ।

०७४ सालको निर्वाचनमा पराजित बनेका पौडेल ०७९ मा भने विजयी बने । निरन्तर सत्ताको यात्रामा रहेका पौडेल ०६३ यता पहिलो पटक राजकीय पदमा पुगेका हुन् ।