वाणिज्य बैंकको कर्जा र निक्षेप दुवैको ब्याजदर घट्ने

वाणिज्य बैंकको कर्जा र निक्षेप दुवैको ब्याजदर घट्ने

कहिरन समाचार

काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी चैतदेखि कर्जा र निक्षेपको ब्याजदर घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए ।

हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स संघले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।