राष्ट्रपति निर्वाचन: मतदान जारी, परिणाम आज साँझ आउने

राष्ट्रपति निर्वाचन: मतदान जारी, परिणाम आज साँझ आउने

कहिरन समाचार

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि संसद भवन नयाँबानेश्वरमा मतदान जारी छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।

राष्ट्रपतिका उम्मेदवारद्वय पौडेलले र नेम्वाङले पहिलो मतदान गरिसकेका छन् । मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन् । यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेका छन् ।

बिहीबार बिहान १० बजेदेखि राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको हो । मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ ।

पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ । यसमा मृत्यु भएकी जसपा सांसद सहनाज रहमानको पनि मतभार जोडिएको छ ।

मतदान सकिएलगत्तै आवश्यक प्रकृया पूरा गरेर आजै मतगणना सुरु गरिने छ । मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने अयोगको तयारी छ । राष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो ।

दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज मतदान सुरु भएको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।