राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल गौरवपूर्ण : केपी ओली

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल गौरवपूर्ण : केपी ओली

कहिरन समाचार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आज गरेको कार्यक्रममा ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताए ।

अध्यक्ष ओलीले विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएकोमा प्रशंसा गरे । ‘विद्यादेवी भण्डारीजस्तो नेतृ तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो । यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने ।

भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । तर, राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नगरेर बकवास गर्ने गरेको टिप्पणी ओलीको छ ।

उनले पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि चर्चा गरे ।