प्राथमिकता प्राप्त क्षेत्रमा वाणिज्य बैंकको कर्जा लगानी कति ?

प्राथमिकता प्राप्त क्षेत्रमा वाणिज्य बैंकको कर्जा लगानी कति ?

कहिरन समाचार

काठमाडौँ । वाणिज्य बैंकहरुको प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जा लगानी २८ प्रतिशत मात्र रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म किटान गरिएको प्राथमिकता प्राप्त क्षेत्रमा बैंकले कुल कर्जा लगानीको कम्तिमा ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि २०७९ पुस मसान्तसम्म वाणिज्य बैंकको यस्तो लगानी जम्मा २८.८८ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनाको रिपोर्टअनुसार २२ वटा वाणिज्य बैंकले कूल ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गर्दै गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा १२ खर्ब ३५ अर्ब ५० लाख रुपैयाँ बराबरको मात्र लगानी भएको हो ।

यस्तो लगानी कृषि क्षेत्रमा अधिकतम १३.०९ प्रतिशतले भएको छ भने उर्जा तथा जलस्रोलको क्षेत्रमा जम्मा ६.२९ प्रतिशत र साना तथा मझौला उद्यम व्यवसायको क्षेत्रमा सरदर ९.५१ प्रतिशत लगानी भएको छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल प्रवाहित कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । यसै गरी, उर्जा क्षेत्रमा सन् २०८१ सम्ममा न्यूनतम १० प्रतिशत र लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत, (१ करोड रुपैयाँभन्दा कम रकमका कर्जा) प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

यस्तो छ बैंकको कर्जा लगानी ?
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ५ वटा वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रभावित कर्जाको हिस्सा ३० प्रतिशत माथि गरेको देखिन्छ ।

सरकारी स्वामित्वका कृषि विकास र राष्ट्रिय वाणिज्य दुईवटा बैंकले कूल कर्जा लगानीको क्रमशः ५७.५० प्रतिशत र ३६.९८ प्रतिशत कर्जा तोकिएको क्षेत्रमा गरेका छन् । पुस मसान्तसम्म यी बैंकले क्रमशः कूल १ खर्ब ७९ अर्ब ७२ करोड ७० लाख र २ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये कृषिको क्षेत्रमा कृषि विकास बैंकले सबैभन्दा बढी २८.३५ प्रतिशत लगानी गरेको छ ।

यस्तै, प्राथमिकताप्राप्त क्षेत्रमा कुल लगानीको ३१.८४ प्रतिशत लगानी गरेको एसबीआई बैंकले कृषि क्षेत्रमा १७.९१ प्रतिशत, उर्जा तथा जलस्रोतको क्षेत्रमा ६.६० प्रतिशत र साना तथा मझौला व्यवसायको क्षेत्रमा ७.३३ प्रतिशत कर्जा लगानी गरेको छ ।

३०.९१ प्रतिशत तोकिएको क्षेत्रमा कर्जा प्रवाह गरेको कुमारी बैंकले कृषिमा ११.५६ प्रतिशत, उर्जा तथा जलस्रोतको क्षेत्रमा ६.६९ प्रतिशत र साना तथा मझौला व्यवसायका क्षेत्रमा १२.६६ प्रतिशत कर्जा लगानी गरेको छ ।

यस्तै सिटिजन्स् बैंकले कूल कर्जाको १२.७९ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेकोमा ६.९७ प्रतिशत उर्जाको क्षेत्रमा र ११.०७ प्रतिशत साना तथा मझौला व्यवसायको क्षेत्रमा लगानी गरेको छ ।

यस्तै, सनराइज बैंक र एनएमबी बैंकले क्रमशः ३२.४४ प्रतिशत र ३२.९० प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेकोमा कृषितर्फ १३.०७ प्रतिशत र १२।७४ प्रतिशत, उर्जाको क्षेत्रमा ८.१० प्रतिशत र ८.९४ प्रतिशत, साना तथा मझौला व्यवसायको क्षेत्रमा ११.२७ प्रतिशत र ११.२२ प्रतिशत कर्जा लगानी गरेका छन् ।

अन्य १७ वटा वाणिज्य बैंकहरुले भने यस्तो प्राथमिकता प्राप्त (तोकिएको क्षेत्रमा) ३० प्रतिशत तल कर्जा लगानी गरेका छन् । सँगै बैंकहरुको खराब कर्जाको दर (एनपीएल) समेत बढेर २.४९ प्रतिशत पुगेको छ ।