प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए ।

अदातलमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ । आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए । त्यसपछि उनीहरु निरन्तर छलफलमा छन् ।

द्वन्द्वकालका मुद्दा अदालतमा लगिएको भन्दै हिजो माओवादी घटकका ८ दलले संयुक्त विज्ञप्ती जारी गर्दै संयुक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।