विश्वकप लिग टू: नेपालले यूएईलाई हरायो

विश्वकप लिग टू: नेपालले यूएईलाई हरायो

कहिरन समाचार

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । दुबईको अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोली यूएईलाई नेपाल ४२ रनले हराएको हो ।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनायो ।

यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रनको अर्धशतकीय ईनिङ खेले । आर्यन लाक्राले ५० रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले १३ रन बनाउँदा यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ तथा आरिफ शेख,करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।