पशुपालक गोविन्दहरिका कुरा: भन्छन्, ‘साइलेज मेसिन’ आवश्यक छ

पशुपालक गोविन्दहरिका कुरा: भन्छन्, ‘साइलेज मेसिन’ आवश्यक छ

कहिरन समाचार

दाङ । घोराही उपमहानगरपालिका–२ का गोविन्दहरि भण्डारी व्यावसायिक कृषीपालन किसान हुन् । उनले विगत २ वर्षदेखि २० लाख रुपैयाँ लगानीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । उनको फार्ममा ५० भन्दा बढी बोयर जातका बाख्रा छन् । तर उनलाई अहिले घाँसको समस्या भएको छ ।

परम्परागत रूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभए पनि व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानलाई बाख्रालाई खुवाउन आहारको अभाव रहेको छ । “सिजनमा घाँसको समस्या हुँदैन तर अफ–सिजनमा घाँस नै पाइँदैन’, उनले भने, “यसले गर्दा व्यावसायीलाई महँगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन ।”

व्यावसायिक बाख्रापालनका लागि किसानलाई ‘साइलेज मेसिन’ आवश्यक रहेको उनी बताउँछन् । सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानलाई घाँसको समस्या नहुने उनको भनाइ छ । यो मेसिन बाख्रा पालन गर्ने किसानलाई मात्र नभएर गाई र भैंसी पाल्ने किसानलाई पनि उत्तिकै आवश्यक छ ।

व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८/२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ । दाना मात्रै खुवाउने, जङ्गलमा चराएर मात्रै बाख्रापालन गर्नसक्ने अवस्था नरहेकाले व्यावसायिक रुपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।

“नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो । तर, कतिपय वन जङ्गलमा बाख्रा चराउन पनि पाइँदैन”, उनले भने,“त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ ।” परम्परागत रूपमा आफूहरूले घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरे पनि व्यावसायिक बाख्रापालनका लागि त्यो भरपर्दो छैन ।”

यसैगरी अर्का व्यवसायी प्रशान्त बुढाथोकीले जिल्लामा व्यावसायिक रूपमा लागेका किसानलाई घाँसकै समस्या भएको बताए । विगत २ वर्षदेखि घोराही उपमहानगरपालिका– ८ दुन्द्रामा जयन्ती पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालनमा लागेका उनी उत्पादन भएका बाख्रा विक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउँछन् ।

“जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ । उत्पादन भएका खसी विक्रिमा छैन”,उनले भने,“सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरेपनि सधैँभरिलाई पुग्दैन ।” उनी सिजनको घाँसलाई भण्डारण गरेर राख्नका लागि साइलेज मेसिन भइदिए जिल्लाभरका व्यवसायीलाई पशुपालनका लागि सहज हुने बताउँछन् ।

दाङ सिर्जनशील पशुपक्षी सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका बुढाथोकीले मेसिन उपलब्ध गराउनका लागि आर्थिक स्रोत जुटे व्यावसायिक घाँस खेतीका लागि करीब १२ बिघा जमिनसमेत खोजिसकेको बताए । “सहकारीले घाँस उत्पादनका लागि जग्गा समेत खोज्ने काम गरिरहेको छ तर मेसिन किन्ने पैसा छैन”, उनले भने,“स्थानीय सरकारले सहयोग गरे व्यवसायीलाई ठूलो सहयोग मिल्ने थियो ।” जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसान बढेपनि घाँसको समस्याका कारण धेरै किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले जग्गा भाडामा लिएर घाँसखेती गरेपनि सिँचाइको सुविधा नहुँदा १२ महीना घाँस उत्पादनमा समस्या हुने गरेको व्यवसायी बुढाथोकी बताउँछन् । उनका अनुसार जिल्लामा सहकारीमा आवद्ध ९६ व्यावसायिक किसान छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि धेरै युवा वैदेशिक रोजगारी छोडेर यस पेसामा आवद्ध भएका छन् ।