म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी पुगेकी छिन । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी छिन ।
काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण-३ दानामा आएकी छिन । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा ‘निम्स’ अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन ।
‘हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,’ पुर्जाले भने ‘बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।’
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेका छन । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।
नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण-३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गरेको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौँ,’ उनले भने “निर्मल विश्वकै साहसिक युवा हो ।’
दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।
सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेटेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।
प्रतिक्रिया