चर्को दबाबपछि तीन बैंकले घटाए ब्याजदर

चर्को दबाबपछि तीन बैंकले घटाए ब्याजदर

कहिरन समाचार

काठमाडौं । चर्को दबाबपछि तीन बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको छ । केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् ।

सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम घटाएर ब्याजदर घटाईसकेको छ भने एभरेष्ट बैंकले पनि ऋणीहरुलाई राहत दिन सोही उपाय अवलम्वन गरेको छ । सानिमा बैंकले २ प्रतिशत, एभरेष्ट बैंकले १ प्रतिशत र सिटिजन्स बैंकले २ प्रतिशत ब्याजदर घटाएर ऋणीहरुलाई राहत दिएको छ ।

चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, यी तीन बैंक बैंकले भने ऋणीहरुलाई राहत दिएको छ ।

ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ । वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन् । त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए । यसबीच केही वाणिज्य बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन थालेका हुन् ।

सानिमा बैंकका सूचना प्रमुख सूचना अधिकारी तेज बहादुर चन्दले सानिमा बैंकले ऋणीहरुलाई बचाउने उद्देश्यले नेपाल राष्ट्र बैंकको नियमनको परिधिभित्रै रहेर ब्याजदर घटाउने कार्यलाई नियमित कार्यको रुपमा गरिरहेको बताए । उनले भने, ‘ब्याजदर घट्ने बढ्ने नियमित कार्य हो । फागुनबाट निक्षेपको ब्याजदर घटेकोले बेसरेट घट्न गई ब्याजदर स्वचालित रुपमा घटेहुन्छ ।’ चन्दले रिपेमेन्टको अवस्था हेरेर थुप्रै राम्रा ऋणीहरुको ब्यादजर घटेको बताए ।

एभरेष्ट बैंकले पनि कर्जाको ब्याजदर औसतमा १ प्रतिशतले घटाएको छ । ‘ब्याजदर अब विस्तारै–विस्तारै घट्दै जान्छ, योभन्दा अघि डिपोजिटको ब्याजदर घटिसकेको छ, त्यसकारण कर्जाको ब्याजदर पनि विस्तारै घट्दैछ’, एभरेस्ट बैंकको एक अधिकारीले भने ।