खेतमै सुके किसानका गहुँबाली

खेतमै सुके किसानका गहुँबाली

कहिरन समाचार

म्याग्दी । लगातारको खडेरीले म्याग्दी सहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् ।

फागुन अन्तिम साता लागिसक्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन । लगातारको खडेरीले गहुँबाली सुकेको बेनी नगरपालिका–२ का कृषक चन्द्रबहादुर कार्कीले बताए । यति लामो खडेरी अहिलेसम्म नपरेको उनले बताए ।

‘यो वर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्न समेत ढिलो भयो । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ’, कार्कीले भने ।

सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए ।

हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानको भनाइ छ । हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानले बताएका छन् । खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ । खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ ।

धान उत्पादन घटेको अवस्थामा हिउँदेबाली समेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौंसँगै तरकारी खेतीमा समेत सिंचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए ।

हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नांगिदै गएका छन् । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरे लगायतका हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन् ।

मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।