बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल

बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल

कहिरन समाचार

बुटवल । जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल–१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो ।

प्रत्येक ५ लिटरमा १५ एमएल कम वा बढीमा ३० एमएलसम्म बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड छ । तर उक्त पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनमा व्यवस्था छ ।

‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ बिक्री गर्दा घटीबढी गरेर बिक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ’, उनले भने, ‘लम्साल पेट्रोल पम्पको नियत के हो ? हामीले अनुसन्धान गर्छौं र आवश्यक कारबाही हुन्छ ।’

अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको बताए । तीन दिनभित्र सञ्चालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको उनले बताए ।

अनुगमन टोली आउने सूचना पाएपछि सञ्चालकले कम बिक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी बिक्री गरेको देखाउन यस्तो प्रयास गरेको हुन सक्ने आशंका समितिको छ ।

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्ट्रिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरमा अनुगमन गरेको थियो ।