सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले रेशम चौधरीका परिवारलाई घरमै गएर भेटे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले रेशम चौधरीका परिवारलाई घरमै गएर भेटे

कहिरन समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्।

शनिबार बिहान उनले चौधरीकी आमा र  परिवारका अन्य सदस्यलाई घरमा गएर भेटेका हुन्।

मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।

‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसावले समाधान हुनुपर्छ, छिटो भन्दा छिटो रेशमको रिहाइ र टिकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकेँ’, उनले भने।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो।

शाहले विश्वासको मत पाउने दाबी गरेका छन्।

उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।