ओलीसँग विभिन्न देशका राजदूतद्वारा सामूहिक भेट

ओलीसँग विभिन्न देशका राजदूतद्वारा सामूहिक भेट

कहिरन समाचार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग  नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरु तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरुले आज पार्टी कार्यालय, च्यासलमा सामुहिक भेट गरेका छन् ।
अध्यक्ष ओलीसँग अमेरिकी राजदूत र्‍यान्डी  बेरी, बेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरुले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी थिए ।
भेटमा राजदूतहरुले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को भूमिकाका विषयमा जिज्ञासा राखेका थिए ।

सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुनुपर्ने उनीहरूको साझा चासो र चिन्ता रहेको थियो ।  सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए । अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरु छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित हुँदैन भन्ने मान्यता एमालेको रहेको स्पष्ट गरेको एमालेको प्रचार विभागले जारी गरेको प्रेस नोटमा उल्लेख छ।