संक्रामक रोगको जोखिम बढेसँगै सरकार सतर्क, १४ जना मंकिपक्सको फोकल पर्सन तोकिए

संक्रामक रोगको जोखिम बढेसँगै सरकार सतर्क, १४ जना मंकिपक्सको फोकल पर्सन तोकिए

कहिरन समाचार

साउन ११, काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न रोगको संक्रमण तथा जोखिम देखिएसँगै सरकार सतर्क बनेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा डेंगु, हैजा, नैरोबी फ्लाई तथा मंकीपक्स भाइरसको मिल्दो जुल्दो लक्षण देखिएपछि सरकार थप सचेत भएको छ ।

जनस्वास्थ्यका महत्वपुर्ण विषयमा सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक तयारीबारे छलफल समेत गरेको प्रवक्ता समिर कुमार अधिकारीले बताएका छन् ।

यस्तै नैरोबी फ्लाई संक्रमण सँग मिल्दोजुल्दो लक्षण भएका म्याग्दीका ५ बिरामी बेनीस्थित सञ्जिवनी हेल्थ क्लिनिक उपचाररत छन् । नैरोबी फ्लाई पनि मंकीपक्स भाइरस जस्तै छालासँग सम्बन्धित रोग हो ।

नैरोबी फ्लाई नामक किराले टोक्दा छालामा एसिड छाड्ने हुँदा त्यसभागमा घाउ हुने, धेरै पोल्ने चिलाउने गर्दछ । धेरै वर्षा हुने स्थानमा नैरोबी किरा देखिने भएकाले चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै छाला सम्बन्धिकै अर्को समस्या मंकिपक्सको लागि भने सरकारले १४ जना छाला रोग विशेषज्ञलाई फोकल पर्सन तोकेको छ । आशंका गरिएको तर पुष्टि हुन नसकेको मंकिपक्सबारे सल्लाह सुझाव लिन इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले १४ जनालाई फोलक पर्सन तोकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिए ।

मंकिपक्सको लक्षण देखिएका विरामीलाई आइसोलेसनमा बस्न प्रवक्ता अधिकारीले अनुरोध गरेका छन् । सतर्क हुन तर त्रसित नहुन अधिकारीले भनेका छन् ।