२०६० बिन्दुमा नेप्से, २ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री

२०६० बिन्दुमा नेप्से, २ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री

कहिरन समाचार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेको छ।

यस दिन २१८ वटा धितोपत्र तथा ऋणपत्रको ५३ लाख ३९ हजार ४ कित्ता सेयरको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ।

गत बिहीबार दोहोरो अंकले बढेको बजार आइतबार फेरि घटेको छ। नेप्से थोरै बढ्ने वित्तिकै लगानीकर्ताको नाफा बुक गरिहाल्ने प्रवृत्तिले निरन्तता पाउँदा नेप्से दबाबमा परेको देखिन्छ।

भदौ लागेसँगै समग्रमा बजार माथितिर जाने प्रयास गरिहेको भए पनि आइतबार बिक्रेता हावी हुँदा परिसूचक घटेको हो।

आइतबार मन्दाकिनी हाइड्रोपावरेको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३१५ रुपैयाँ ८० पैसा कायम भएको छ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर अन्तिम मूल्य २४९ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा रिभर फल्स पावर र हिमालयन हाइड्रोपावर रहेको छ। रिभर फल्स पावरको सेयर मूल्य ५.१९ र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ५.०७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः २९२ रुपैयाँ र ३३७ रुपैयाँमा झरेको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको १२ करोड २८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१६ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा अपि पावर कम्पनी रहेको छ। उक्त कम्पनीको २७५ रुपैयाँमा १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार वटा समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले घटेको छ।

त्यसैगरी, जलविद्युत र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा धरैले घटेको छ।